बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी सडकखण्डमा यातायात ठप्प
काठमाडौं । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग प्रभावित भएका छन्। बाढी, पहिरो र सडक कटानका कारण कतिपय सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। केही स्थानमा भने वैकल्पिक सडकमार्फत यातायात सञ्चालनको व्यवस्था गरिएको छ।
प्रहरीले बुधबार बिहान जारी गरेको सडक अवस्थासम्बन्धी बुलेटिनअनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ। उक्त स्थानमा यातायात पूर्ण रूपमा रोकिएको छ।
त्यस्तै, पृथ्वी राजमार्गकै गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङल्हामु राजमार्ग पूर्ण अवरुद्ध
यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाको पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारतर्फको अधिकांश सडकखण्ड कटानमा परेको छ। सडक कटानका कारण राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
स्याफ्रुबेँसीसम्म पुग्न वैकल्पिक मार्गका रूपमा काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडक प्रयोग गर्न सकिने जनाइएको छ।
नुवाकोट र लमजुङमा पनि सडक अवरुद्ध
नुवाकोटको विदुर–लाच्याङ सडकखण्डअन्तर्गत सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
नुवाकोटकै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, मुगुको नाग्म–गमगढी सडकखण्डमा वर्षाका कारण ढुङ्गा, माटो तथा लेदो आएपछि यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
बैतडी र इलाममा पनि समस्या
बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो जमेर यातायात प्रभावित भएको थियो। अहिले उक्त सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा आउन थालेका छन्।
मकवानपुरमा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने
प्रहरीका अनुसार मकवानपुरमा विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
१४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ। काठमाडौं जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा रातिको आवागमन बन्द
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
उक्त राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधनको आवतजावत बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म यातायात सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह
प्रहरीले विपद्को जोखिम रहेको समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सवारीसाधन तोकिएको पालोअनुसार सञ्चालन गर्न, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीले दिएको निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
लगातारको वर्षाका कारण पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा जोखिमपूर्ण स्थानमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment