त्रिशूली नदी किनार पुगेर सोनु सूदले भने: ‘नेपाल एक्लो छैन, आशा जगाउन र पुनःनिर्माणमा म साथ रहनेछु’
काठमाडौँ। बाढी र पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्रिशूली नदी क्षेत्र पुगेका बलिउड अभिनेता तथा समाजसेवी सोनु सुदले पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै भावुक सन्देश साझा गरेका छन्।
त्रिशूली नदी किनारमा उभिएर तस्बिर/भिडियो खिच्दै सुदले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत नेपाली नागरिकहरूलाई पुनःनिर्माण र पुनर्वासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
सोनु सुदले भनेका छन् ‘आज यहाँ त्रिशूली नदीको किनारमा उभिँदा बाढीले नसोचेको क्षति पुर्याएको देखेको छु… भत्किएका घरहरू, टुटेका परिवारहरू र सधैँका लागि परिवर्तन भएका जीवनहरू। नेपाल एक्लो छैन। म यहाँका मानिसहरूसँगै उभिएको छु र आशा जगाउन, घरहरू पुनःनिर्माण गर्न तथा परिवारहरूलाई नयाँ सुरुवात गराउन मबाट हुन सक्ने सबै प्रयास गर्नेछु।’
काठमाडौँ अवतरण भएलगत्तै सुद बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली नदी तटीय क्षेत्रमा पुगेर स्थानीय पीडितहरूसँग प्रत्यक्ष कुराकानी र राहत सामग्री वितरणमा जुटेका छन्। आपत्कालीन खाद्यान्न र कम्बल वितरणसँगै उनले बाढीका कारण घरबारविहीन भएका परिवारहरूका लागि आवास निर्माणमा दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद्को कठिन समयमा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूबाट प्राप्त यस्तो सहयोग र ऐक्यबद्धताले प्रभावित क्षेत्रका नागरिकहरूमा हौसला थपेको छ।



No ads found for this position


डिसी नेपाल
Facebook Comment