हिलोमाटोले सुरुङ थुनिँदा उद्धार निकै चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक: प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल) बाढी र हिलाेमाटोले पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेका नागरिकहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीको विनाश र जारी राहत तथा उद्धार कार्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले अहिलेको विपद्को प्रकृति विश्वका अन्य घटनाभन्दा बिल्कुलै फरक र जटिल रहेको स्पष्ट पारे।
संसद्मा बोल्दै प्रधानमन्त्री शाहले भने, “टनेलमा फसेकाहरूको विषयमा अहिले धेरै चर्चा भइरहेको छ। तर यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ।
विश्वका कुनै पनि टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञता र प्रविधि उपलब्ध हुन्छ। तर यो पहिरोले थुनिएको टनेल नभई बाढीसहितको हिलामाटोले पूर्ण रूपमा भरिएर थुनिएको अवस्था हो।”
यस्तो खालको विपद्मा काम गर्ने ठूलो प्राविधिक अनुभव र प्रविधि कुनै पनि देशसँग तत्काल उपलब्ध नरहेको उनले बताए। “यससम्बन्धी काम गर्ने एकदमै ठूलो विज्ञता कुनै देशमा पनि थिएन।
हामीसँग पनि तत्कालै गर्ने प्रविधि अहिलेसम्म कसैसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति पनि उद्धारका घटना भएका थिए, तीभन्दा यो अवस्था बिल्कुलै फरक हो,” प्रधानमन्त्री शाहले थपे।
जटिल भूगोल, प्रतिकूल मौसम र हिलामाटो पम्पिङ गरी पन्छाउनुपर्ने प्राविधिक कठिनाइका बाबजुद उपलब्ध सम्पूर्ण शक्ति र साधन प्रयोग गरी उद्धार प्रयास निरन्तर जारी राखिएको उनले सदनलाई जानकारी गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment