एलपी ग्यास आपूर्ति प्रभावित: व्यावसायिक प्रयोगमा रोक, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता
LPG-GAs - 1
काठमाडौं। पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ।
अविरल वर्षा र भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भदौ १४ गते कृष्णाभिरमा सडक भासिएर ग्यासका बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने अवस्था सिर्जना भएपछि बजारमा अभाव हुन नदिन नेपाल आयल निगमले कदम चालेको छ।
निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी तथा अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबिच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन विभिन्न निर्णयहरू गरेको छ।
तराईका उद्योगबाट भरिएर वैकल्पिक मार्गबाट ल्याइने
राजमार्ग अवरुद्ध भई ग्यास बुलेट काठमाडौँ आउन नसकेपछि अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगहरूले तराईका उद्योगहरूमै ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएका छन्।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार कठिन परिस्थितिमा तराईबाट ल्याइएको ग्यास विक्रेताहरूले समानुपातिक र सहज रूपमा वितरण गर्नुपर्नेछ।
“तराईबाट ग्यास ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको छ, तराईबाट ग्यास आएपछि अत्यावश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गरिनेछ,” कार्यकारी निर्देशक साहले बताए।
व्यावसायिक प्रयोगमा रोक, बिरामी र आश्रमलाई प्राथमिकता
निगमले ग्यासको चरम अभाव हुन नदिन हाललाई व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरण पूर्ण रूपमा रोक्न विक्रेताहरूलाई निर्देशन दिएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ।
निर्णय अनुसार विशेष गरी विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम, अपाङ्गता भएका व्यक्ति तथा हालैको बाढीपीडितका लागि खुलेका राहत सेन्टरहरूलाई आवश्यकताका आधारमा प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइनेछ।
व्यावसायीले आफ्नै खर्चमा तराईबाट ल्याउनुपर्ने
व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीहरूले भने अब आफैँ ग्यासको व्यवस्थापन गर्नुपर्ने भएको छ। ठुला उपभोक्ता तथा व्यवसायीले आफूले प्रयोग गर्ने ब्रान्डको खाली सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईका उद्योगमै लगेर रिफिल गरी आफ्नै खर्चमा काठमाडौँ ल्याउनुपर्ने निर्णय बैठकले गरेको छ।
कालोबजारी रोक्न क्यूआरटीमा विक्रेताको सहभागिता
बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आयल निगमको द्रुत प्रतिक्रिया टोलीमा ग्यास विक्रेताका तर्फबाट पनि २ जना प्रतिनिधि राख्ने निर्णय भएको छ। यसले बजार अनुगमन र गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।
बैठकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्याय, उपनिर्देशक इन्दु शर्मा अधिकारी, ग्यास विक्रेता महासंघ नेपालका कार्यवाहक उपाध्यक्ष विष्णुप्रसाद दुलाल र ग्यास विक्रेता संघ काठमाडौंका अध्यक्ष हेमबहादुर थापालगायत सरोकारवालाको उपस्थिति थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment