राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकाका लागि बाहिरैबाट ग्यास भर्न थालियो
चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सङ्घीय राजधानी काठमाडौँ बाहिरका उद्योगहरूमा खाना पकाउने ग्यास भरेर उपत्यका पठाउन थालिएको छ।
ग्यास बोकेका बुलेटहरू मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ छिर्न नसकेपछि बाहिरका प्लान्टहरूमा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट पठाइएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँ उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगहरूले चितवन, बारा, पर्सा, मकवानपुर, र नवलपरासीका उद्योगहरूसँग समन्वय गरी ग्यास सिलिन्डर भर्ने व्यवस्था मिलाएका छन्।
यसक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ। यस्तै, धादिङ नौबिसेमा प्लान्ट रहेको श्री ग्यासका लागि चितवनको बाबा ग्यासले एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ।
चितवनकै साइबाबा ग्यासले आफ्नै ९०० सिलिन्डर र नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका लागि एक हजार २०० सिलिन्डर भरेर काठमाडौँ पठाएका छन्।
त्यस्तै गैँडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम ग्यास, हेटौंडाको साहारा ग्यास उद्योगमा काठमाडौँको एभरेस्ट र सुगम ग्यास भरेर पठाइएको छ। बनेपाका सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायतले पनि परासी र बाहिरका अन्य उद्योगहरूमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यकातर्फ पठाउन सुरु गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार भारतबाट ग्यासको आयात नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगहरूले अन्य उद्योगमा भरेर ट्रक मार्फत पठाइरहेकाले बजारमा ग्यासको अभाव नहुने स्पष्ट पारे। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास भित्रिएको र सोही अनुपातमा आपूर्ति भइरहेकाले उपभोक्तालाई समस्या नपर्ने उनले बताए।
सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिरै ग्यास भर्ने अनुमति दिएपछि आपूर्ति प्रणालीलाई सहज बनाइएको हो। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा कुल खपतको करिब ४० प्रतिशत ग्यास खपत हुने गर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment