भोटेकोशी बाढी: नुवाकोटबाट १७७ शव संकलन, पुरिएकाहरूको खोजी तीव्र

डिसी नेपाल
१८ भदौ २०८३ १०:४७

त्रिशूली (नुवाकोट)। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिको खोजतलासका क्रममा नुवाकोटबाट हालसम्म १७७ जनाको शव संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार जमिनको सतहमा रहेका शव संकलनको पहिलो चरणको कार्य सम्पन्न भएको छ।

जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार सङ्कलित शवमध्ये १६ जनाको पहिचान खुलेकाले आफन्तलाई बुझाइएको छ। बाँकी शवको पहिचान तथा शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

नेपाली सेनाको हेलिकप्टर, नेपाल प्रहरीको ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुरसहित जिल्लाका ३० वटा क्षेत्रलाई आधार बनाएर खोजी अभियान चलाइएको थियो। जमिनको सतह र घरभित्र देखिने अवस्थामा रहेका शव उठाइसकिएकाले प्रहरीले अब लेदो र ग्रेगर हटाएर पुरिएका शवको उत्खनन तथा खानतलासी सुरु गरेको छ।

खोजी र उद्धार कार्यमा सशस्त्र प्रहरी बलले जमिनमा सहयोग गरिरहेको छ भने नेपाली सेनाले संकलित शव एयरलिफ्ट गर्न हेलिकप्टर प्रयोग गरिरहेको छ।

बाढीका क्रममा सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरबाट मात्रै २१ जनाको शव फेला परेको थियो। सार्वजनिक सवारी साधन रोकेर सुरक्षित स्थान मानेर आश्रय लिएका यात्रुहरू बाढीको चपेटामा परेको अनुमान गरिएको छ। तीमध्ये अधिकांशको पहिचान हुन नसकेपछि परीक्षणका लागि काठमाडौँ पठाइएको छ।

प्रहरीले अब बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाट जस्ता मुख्य प्रभावित क्षेत्रका बस्ती र सडकमा थुप्रिएको लेदो हटाई उत्खनन कार्यलाई तीव्र बनाएको छ। साथै, कतै शव देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न नागरिकहरूलाई अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *