भोटेकोशी बाढी: मधेस प्रदेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

डिसी नेपाल
१८ भदौ २०८३ ११:१७

जनकपुरधाम।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार बाढीपछि बेपत्ता भएका कुल १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन् भने १६२ जना अझै सम्पर्कविहीन छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान तथा बाराका सत्यम राम र रुपेश गुप्ता सम्पर्कमा आएका छन्।

त्यस्तै रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल सुरक्षित रहेको पुष्टि भएको छ।

सर्लाहीका वृजकिशोर दास, सुनिता दास र दिपेश थापाका साथै महोत्तरीका राकेशकुमार यादव, विपीनकुमार मण्डल, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्यनारायण यादव र विकास भारती पनि सम्पर्कमा आएका छन्।

यसैगरी धनुषाका लक्ष्मण मेहता, दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव तथा सिरहाका टार्जन बलम्पाकी, उमेश यादव र अजय मरिक टेलिफोन सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

अझै ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता रहेका छन्। हालसम्म प्राप्त विवरणअनुसार सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना गरी १६२ जना अझै सम्पर्कविहीन छन्।

बाढी र पहिरोपछि धेरै नागरिक आफ्ना परिवारको सम्पर्कमा नरहेको सूचना आएपछि प्रहरीले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउँदै हराइरहेकाहरूको विवरण सङ्कलन कार्य जारी राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *