भोटेकोशी बाढी: मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटोबाट राहत ढुवानीमा सकस

डिसी नेपाल
१८ भदौ २०८३ १३:५७

काठमाडौं। भोटेकोशीमा आएको बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकमार्फत राहत सामग्री लैजान स्वयंसेवक तथा यात्रुहरूलाई ठूलो सास्ती भएको छ।

मुख्य सडक ठप्प बनेपछि रसुवातर्फ जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक रुट प्रयोग गरिरहेका छन्। तर, सडकको जर्जर अवस्था, साँघुरो बाटो र ठाउँ-ठाउँमा परेको लामो जामका कारण राहत ढुवानीमा तीव्र सकस पैदा भएको छ।

राहत वितरणमा खटिएका स्वयंसेवक शैलेन्द्र पन्थीका अनुसार उनीहरू सातवटा गाडीमा राहत सामग्री बोकेर रसुवातर्फ जाँदै थिए। तर बाटोको खराब अवस्थाका कारण एउटा गाडी अघि बढ्न नसकी बीचबाटै फर्काएर तल्लो क्षेत्रकै होल्डिङ सेन्टरमा सामग्री वितरण गर्नुपरेको उनले बताए।

“हामी नितान्त व्यक्तिगत पहल र स्वयंसेवकका रूपमा राहत संकलन गरेर प्रभावित क्षेत्रमा पुर्याउने प्रयासमा छौँ। तर बाटोको अवस्था यति गाह्रो छ कि एउटा गाडी आउन नसकेर फिर्ता पठाउनुपर्‍यो,” पन्थीले भने।

विशेष गरी घिचेत क्षेत्रमा सडक बिग्रिएकाले घण्टौँसम्म जाम हुने गरेको छ। बाटोको विकटता र सवारी साधनको उच्च चापका कारण राहत बोकेर गएका कतिपय स्वयंसेवक तथा सहयोगीहरू गन्तव्यमा नपुगी बीच बाटोबाटै फर्किन बाध्य भएका छन्। मुख्य राजमार्ग सञ्चालनमा नआएसम्म रसुवाका बाढी प्रभावितसम्म राहत सामग्री पुर्याउन अझै केही दिन कठिन हुने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *