देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै

डिसी नेपाल
१९ भदौ २०८३ ६:४४

काठमाडौं। वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आजीवन सत्यको पक्षमा उभिएर अन्याय र राक्षसी प्रवृत्तिको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका श्रीकृष्णले बाल्यकालदेखि नै अनेक लीला देखाएका थिए। उनले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उहाँले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।

आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजा-आराधना, भजनकीर्तन र प्रवचन आयोजना गरिनुका साथै श्रद्धालुहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।

पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका साना-ठूला कृष्ण मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।

विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकालिरहेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *