राष्ट्रपति पौडेलको शुभकामना: गौरा पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउँछ

डिसी नेपाल
१९ भदौ २०८३ ६:५९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता लोक परम्परा र सांस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक ऐक्यबद्धता एवं सहिष्णुता अभिवृद्धि गरेको उल्लेख गरे।

गौरा पर्वले परिवार र समाजलाई जोड्दै सांस्कृतिक संरक्षण, आध्यात्मिक आस्था र मानवीय जीवनमा सुख-शान्ति ल्याउन मद्दत पुर्‍याएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ। यस पर्वले बिछोडिएका जोडीहरूको पुनर्मिलन गराउने, दाम्पत्य जीवनलाई प्रगाढ बनाउने र आपसी सुख-दुःख बाँड्ने अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म मनाइने यस पर्वमा भगवान् शिव र पार्वती (गौरा) को पूजा-आराधना गरी व्रत बस्ने परम्परा छ। गौरा पर्वमा गहुँ, धान, केराउ, मास र गहत मिसाएर बनाइएको ‘बिरुँडा’ प्रसादका रूपमा अर्पण गरिन्छ। पर्वका अवसरमा स्थानीयवासीहरू एकै ठाउँमा भेला भई देउडा, धमारीजस्ता सांस्कृतिक लोकभाकाका माध्यमबाट आफ्नो भावना तथा सुख-दुःख साटासाट गर्ने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *