बाढी प्रभावित नुवाकोटमा पुनरुत्थानका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
त्रिशूली (नुवाकोट)। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकको खोज तथा उद्धार, राहत वितरण र पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गरेकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकका समस्या तथा तत्काल चाल्नुपर्ने कदमबारे जनप्रतिनिधि र सम्बन्धित अधिकारीसँग छलफल गरेकी हुन्।
विदुर नगरपालिकाका जनप्रतिनिधि तथा जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले विपद्को समयमा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीले गरेको खोज तथा उद्धार र विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ‘होल्डिङ सेन्टर’को व्यवस्थापनको प्रशंसा गरिन्।
उनले भनिन्, “जनप्रतिनिधि र कर्मचारी स्वयं प्रभावित भएको अवस्थामा पनि दिनरात नभनी बाढीपीडितको असहज परिस्थितिलाई सहज बनाउन पुर्याएको योगदान उच्च छ। अकल्पनीय विपत्तिमा गरिएको उद्धार, विस्थापित नागरिकलाई सुरक्षित बासस्थानमा राख्ने कार्य र असहज परिस्थितिलाई सहज बनाउन भएका अभ्यास सबैका लागि नमुना बनेका छन्। अब यही सन्देश पुनरुत्थानको काममार्फत पनि दिनुपर्छ।”
छलफलका क्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबासको व्यवस्था गर्न तीन तहका सरकारबीच विशेष पहलसहित निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उनले तत्कालीन उद्धार कार्य सम्पन्न भए पनि बाढीबाट प्रभावित नागरिकका घर तथा संरचनाको खोजी, अवरुद्ध सडक तथा पहुँच मार्गको तत्काल मर्मत तथा सञ्चालन र प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने कामलाई प्राथमिकता दिनुपर्ने बताए। विगतमा पुल रहेका स्थानमा तत्काल बेलीब्रिज निर्माण गर्नुपर्ने मागसमेत उनले राखे।
नगरप्रमुख श्रेष्ठले ‘होल्डिङ सेन्टर’मा बसिरहेका बाढीपीडितलाई दीर्घकालीन समाधानसहित सुरक्षित र सम्मानजनक रूपमा घर फर्काउने वातावरण निर्माण गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार बाढीका कारण बेत्रावती, भैँसे, अक्करे, त्रिशूली र देवीघाटलगायतका बजार तथा बस्तीमा ठूलो क्षति पुगेको छ। नयाँ बस्ती निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गा व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनले बताए।
“बाढीबाट बेत्रावती, भैँसे, अक्करे, त्रिशूली, देवीघाटलगायत बजार उठिबास लागेको छ। नयाँ बस्ती निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गाको व्यवस्थापनमा सङ्घीय सरकारको साथ खोजेका छौँ,” उनले भने।
बाढीका कारण आर्थिक रूपमा प्रभावित नागरिक तथा प्रभावित क्षेत्रका नागरिकले लिएको ऋणमा समेत लचकता अपनाउनुपर्ने माग गर्दै श्रेष्ठले अनुदान तथा थप सहयोग उपलब्ध भएमा निर्धारित समयभित्र पुनरुत्थानको काम अघि बढाउन सकिने बताए।
मन्त्री रावललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी उपरीक्षक विपिन रेग्मीलगायत जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिले बाढीपछि सञ्चालनमा रहेका होल्डिङ सेन्टरको अवस्था, व्यवस्थापन तथा प्राप्त राहत सामग्रीको वितरणबारे जानकारी गराएका थिए।
सुरक्षा अधिकारीहरूले राहत सामग्रीको समानुपातिक वितरणसँगै बाढी प्रभावित नागरिकको दैनिक जीवनसँग जोडिएका स्वास्थ्य, सडक तथा आवागमन, विद्युत्, खानेपानीलगायतका समस्याबारे पनि मन्त्री रावललाई अवगत गराएका थिए।
मन्त्री रावलले तत्कालीन राहत तथा उद्धारसँगै अब प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र दीर्घकालीन पुनरुत्थानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment