भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न विभागको आग्रह

डिसी नेपाल
१९ भदौ २०८३ २१:०८

काठमाडौं । रसुवा तथा नुवाकोट जिल्लाका हिमताल विस्फोट भई भोटेकोशी नदीमा बाढी आउन सक्ने आशङ्काका बीच जल तथा मौसम विज्ञान विभागले तत्काल त्यस्तो ठूलो बाढी आउन सक्ने सम्भावना नरहेको स्पष्ट पारेको छ।

विभिन्न माध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचार तथा अफवाहका कारण जनमानसमा त्रास फैलिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखा/केन्द्रले शुक्रबार राति एक सूचना जारी गर्दै संयमित रहन सर्वसाधारणलाई अपिल गरेको हो।

विभागका अनुसार नेपाली अधिकारीहरू चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर प्रत्यक्ष सम्पर्कमा रहेर जल-मौसमसम्बन्धी प्राप्त सूचनाहरूको अनुगमन गरिरहेका छन्। हालसम्म प्राप्त आधिकारिक तथ्याङ्क र प्राविधिक विश्लेषणका आधारमा हिमताल विस्फोट भई नदीमा तत्काल ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएको केन्द्रले जनाएको छ।

अपुष्ट सूचना र हल्लाका पछाडि नलाग्न अनुरोध गर्दै विभागले बाढीको कुनै पनि वास्तविक जोखिम वा सम्भावना देखिएमा आफ्नै प्रणालीमार्फत सम्बन्धित क्षेत्रका नागरिकलाई तत्काल ‘एसएमएस’ मार्फत पूर्वसूचना पठाइने जानकारी दिएको छ।

यस विषयमा थप स्पष्टता वा आधिकारिक जानकारी चाहिएमा विभागको निःशुल्क टोल-फ्री नम्बर ११५५ मा २४ सै घण्टा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *