कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको भित्री तथा माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ।
हालसम्म दुवैतर्फ गरी करिब २५२ मिटर अस्थायी ट्र्याक खनिएको सडक बिभागले जानकारी दिएको छ। दुवैतर्फबाट खनिएको ट्र्याक जोडिइसकेको छ भने उक्त ट्र्याकबाट उत्खननका लागि प्रयोग हुने मेसिन आवतजावत गर्न सक्ने गरी प्रारम्भिक बाटो तयार गरिएको हो।
सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ।
पहिरो गएको स्थानको अवस्थाअनुसार सडकको माथिल्लो भागबाट करिब २७ मिटर माथि हुँदै नयाँ बाटो खोल्ने योजना छ। यसका लागि कुल करिब ३७० मिटर नयाँ बाटो निर्माण गरिने योजना बनाइएको छ। नयाँ सडक करिब ७ मिटर चौडा बनाउने विभागले बताएको छ।
बाटो खोल्ने क्रममा बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो। यातायात सञ्चालन सहज बनाउन नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment