चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ आफन्तको डीएनए नमूना सङ्कलन
नारायणगढ (चितवन)। रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन तथा पहिचान प्रक्रिया जारी छ। प्रहरीले शवको वैज्ञानिक पहिचानका लागि आफन्तको डीएनए नमूना सङ्कलन गर्ने कामलाई समेत तीव्रता दिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।
शवहरूको वैज्ञानिक पहिचानका लागि प्रहरीले भदौ १६ गतेदेखि हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमूना सङ्कलन सुरु गरेको थियो। भदौ २० गतेसम्म ६८ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए।
प्रहरीका अनुसार भदौ १६ गते सात पुरुषको डीएनए नमूना सङ्कलन गरिएको थियो। त्यसैगरी भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक रहेका थिए।
भदौ १८ गते २२ जनाको डीएनए नमूना सङ्कलन गरिएको थियो। तीमध्ये चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक रहेका छन्।
यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकोमा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका थिए। भदौ २० गते थप छ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन्।
बाढीपछि त्रिशूली तथा नारायणी नदीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा शव फेला पार्ने क्रम जारी रहेकाले पहिचानको प्रक्रिया पनि निरन्तर अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक यादवका अनुसार अहिले पनि बेपत्ता व्यक्तिको खोजी, शवको पहिचानका लागि आफन्तको डीएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन तथा सम्बन्धित निकायबीच समन्वय गर्ने काम जारी छ।
शवको पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएकाले बेपत्ता व्यक्तिका आफन्तबाट सङ्कलन गरिएका नमूनाका आधारमा फेला परेका शवको वैज्ञानिक रूपमा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment