भोटेकोशी बाढी प्रभावितका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

डिसी नेपाल
२१ भदौ २०८३ १०:३२

नुवाकोट। भोटेकोशीमा आएको बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिक तथा प्रभावित बासिन्दालाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

भदौ २० गते आयोजित उक्त शिविरबाट कुल २०० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। सेवा लिनेहरूमा १०१ जना ज्येष्ठ नागरिक (४८ महिला र ५३ पुरुष) रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकहरूले सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका नियमित औषधि गुमाएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिएको हो। शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक, मुटु रोग तथा दन्त सेवासम्बन्धी विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

यस्तै, विपद्का कारण मानसिक तनावमा परेका प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श र तनाव व्यवस्थापनसम्बन्धी सेवा प्रदान गरिएको छ।

विपद्को समयमा उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसहरूलाई समेत आवश्यक महत्त्वपूर्ण औषधिहरू उपलब्ध गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *