भोटेकोशी बाढी: १,३४१ शव फेला, ४,०४४ जना अझै बेपत्ता

डिसी नेपाल
२१ भदौ २०८३ ११:१९

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १,३४१ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४,०४४ जना अझै सम्पर्कविहीन छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमा ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा सनाखत हुन नसक्ने (चिन्न नसकिने) अवस्थाका छन्।

बेपत्ता हुनेहरूमा स्वदेशी नागरिकतर्फ २,८६३ पुरुष र ५७५ महिला रहेका छन् भने विदेशी नागरिकतर्फ २६९ पुरुष, ३३२ महिला र अन्य ५ जना छन्।

फेला परेका शवमध्ये १,०३७ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिसकिएको छ भने बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

पहिचानका लागि हालसम्म १,२८६ मृतक र उनीहरूका १,१८६ आफन्त गरी कुल २,४७२ जनाको डिएनए नमूना संकलन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

विपदपछि हालसम्म ९,१५१ जना घाइतेको उद्धार गरिएको छ, जसमध्ये ३,०९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकायहरू निरन्तर खटिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *