गोरखामा बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगे, मनास्लु पदमार्ग अवरुद्ध

डिसी नेपाल
२१ भदौ २०८३ १२:३३

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आएको पहिरोसहितको भीषण बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ। बाढीका कारण स्थानीयको घरमा क्षति पुग्नुका साथै सम्पूर्ण चुमनुब्री क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

थेराङ खोलामा आएको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ। सोही बाढीका कारण बूढीगण्डकी नदीको बहाव तीव्र भई नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुलसमेत बगेको छ।

बाढीले स्थानीयवासीले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ। १०० किलोवाटको जलविद्युत् आयोजना र २२ किलोवाटको अर्को जलविद्युत् आयोजना पनि बगेकोले आवतजावत र विद्युत् सेवा पूर्ण रूपमा ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ।

विद्युत् आपूर्ति बन्द भएसँगै सञ्चार सेवा लगायत विद्युत्बाट चल्ने सम्पूर्ण अत्यावश्यक सेवाहरू अवरुद्ध भएका छन्। पदमार्गका पुलहरू बगेपछि पर्यटकीय सिजनको सुरुवातमै मनास्लु क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकहरू समस्यामा परेका छन्। प्रसिद्ध लार्केपासका लागि प्रस्थान गरेका सयौँ पदयात्री बूढीगण्डकीको पुल नहुँदा गन्तव्यतर्फ अघि बढ्न सकेका छैनन्।

यसैबीच, पहिरोसहित आएको बाढीले राति स्थानीय चार जनाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीका कारण स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर पूर्ण रूपमा नष्ट भएको छ।

वडाध्यक्ष लामाका अनुसार बाढीपीडित चारै परिवारका लागि तत्काल अल्पकालीन राहतको व्यवस्था गरिएको छ। घरको कुनै पनि सामान जोगाउन नसकिएकाले खाद्यान्न र कपडाका लागि तत्काल प्रतिपरिवार २० हजार रुपैयाँका दरले नगद राहत दिने तयारी छ । केही दिनभित्रै गाउँपालिकाका तर्फबाट थप एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *