रसुवागढी हाइड्रोका बेपत्ता कर्मचारी जंगलमा खोजिँदै, आरोहीहरूको टोली परिचालन
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनामा गएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका ९३ जना कर्मचारी तथा श्रमिकहरूको खोजी कार्यलाई विद्युतगृह (पावरहाउस) बाहिरका सम्भावित जंगल तथा पहाडी भूभागमा विस्तार गरिएको छ ।
बाढी आउँदा ज्यान जोगाउन भागेर माथि जंगलतिर पुगेका वा घाइते भई अड्किएका हुन सक्ने आशंकामा ‘रक क्लाइम्बर’ सहितको दक्ष टोली परिचालन गरिएको छ। कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित र हिमालय समिट क्लब प्रा.लि.का ८ जना अनुभवी रक क्लाइम्बरहरूको टोलीलाई घट्टेखोला क्याम्प तथा आसपासका जंगल क्षेत्रमा खोजीका लागि खटाएको छ।
टिमुरे क्षेत्रमा प्रारम्भिक अध्ययन गरेपछि टोलीलाई हेलिकप्टरमार्फत घट्टेखोला क्षेत्रमा पुर्याएर शनिबार बिहान ७:३० बजेदेखि खोजी कार्यलाई निरन्तरता दिइएको छ। बाढीका बेला भागेर जंगल पुगेका धेरैजसो मानिसहरू सम्पर्कमा आइसके तापनि भाग्ने क्रममा चोटपटक लागेर हिँड्न नसक्ने अवस्थामा अड्किएकाहरूको सम्भावित ओत र अप्ठ्यारो भौगोलिक क्षेत्रमा खोजी भइरहेको छ।
नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गरी शनिबार बिहान ९:२० बजेदेखि विद्युत्गृहभित्र प्रवेश गरेर खोजी सुरु गरेको थियो। टोलीले भग्नावशेष हटाउँदै खोजी गर्दा कन्ट्रोल रुम पूर्ण रूपमा हिलो, लेदो र काठका टुक्राहरूले ईओटी क्रेन लेभलभन्दा माथिसम्म पुरिएको पाइएको छ। विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको अनुमान गरिए पनि शनिबारको खोजीका क्रममा कोही पनि फेला नपरेकाले उद्धार टोली हाल विद्युत्गृहबाट बाहिरिएको छ।
आयोजनामा हालसम्म ७ जनाको जीवितै उद्धार गरिसकिएको छ भने बाँकी ९३ जना कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment