जलविद्युत आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाको प्रतिबद्धता
काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फसेका नागरिकहरूको खोज तथा उद्धार कार्य सरकारले नरोकेसम्म निरन्तर जारी रहने भएको छ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले जलविद्युत आयोजनाका सुरुङहरू पूर्ण रूपमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
विपद्का कारण रसुवा र नुवाकोटका गरी ११ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अनुसार आयोजना स्थल तथा सुरुङभित्र गरी ८९८ जना मानिसहरू सम्पर्कविहीन भएका छन्।
बाढीबाट रसुवातर्फ रसुवागढी, रसुवा-भोटेकोशी, माथिल्लो मेलुङ-ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन् भने नुवाकोटतर्फ त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी र मिडल त्रिशूली गङ्गा आयोजनामा क्षति पुगेको छ।
हाल नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरूसहितको संयुक्त टोलीले अति प्रभावित क्षेत्रहरूमा प्राविधिक उपकरणसहित तीव्र उद्धार प्रयास गरिरहेको छ।
माथिल्लो त्रिशूली-१ मा नेपाली र कोरियन उद्धारकर्मीको संयुक्त टोलीले आयोजनाको सुरुङभित्र ११५ मिटर गहिराइमा पुगेर एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको छ। टनेलभित्र अक्सिजनको मात्रा अत्यन्तै कम रहेकाले उद्धारकर्मीहरूलाई समेत कठिन चुनौती थपिएको सहायक रथी थापाले जानकारी दिनुभयो।
त्यस्तै, माथिल्लो त्रिशूली-३ ए को नुवाकोटस्थित पावर हाउस क्षेत्रमा ४ वटा स्काभेटर र ३ वटा वाटर पम्पको प्रयोग गरी १० दिनको निरन्तर प्रयासपछि १७५ मिटर भित्र रहेको पावर हाउसभित्र प्रवेश गर्न सफलता मिलेको छ।
त्यहाँबाट दुई जनालाई जीवितै उद्धार गर्नाका साथै एक जनाको शव निकालिएको छ भने पावर हाउसभित्र अत्यधिक लेदो छिरेकाले उद्धारमा ढिलाइ भएको छ।
अर्कोतर्फ करिब ४० जना मानिस पुरिएको आशंका गरिएको माथिल्लो त्रिशूली-३ बी आयोजनामा सेनाका ९० जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। त्यहाँ मिनी स्काभेटर, सावेल र म्यानपावरको प्रयोग गर्दै माथिल्लो त्रिशूली-३ ए हुँदै ३ बीको टनेलसम्म पुग्ने गरी खोजी कार्यलाई तीव्रता दिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment