विपत्तिमा वैचारिक भिन्नता भुलेर एकजुट हुन आरके शर्माको आह्वान
दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष आरके शर्माले प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षति अपूरणीय रहेको भन्दै उद्धार, राहत, पुनःस्थापना र सुरक्षित पुनर्निर्माणका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
शर्माले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ नगद सहयोगसमेत गरेका छन्।
कतारमा आयोजित भोटेकोशी बाढी तथा पहिरोका मृतकहरूप्रति समर्पित श्रद्धाञ्जली सभामा बोल्दै शर्माले व्यक्तिगत, संस्थागत र वैचारिक भिन्नताभन्दा माथि उठेर राष्ट्रिय संकटको समयमा सबै नेपाली एउटै ठाउँमा उभिनुपर्ने बताए।
प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वतयारी, सुरक्षित आवास, बलियो पूर्वाधार र चुस्त विपद् व्यवस्थापनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।
सुरक्षित र उत्थानशील पुनर्निर्माणमा राज्य तथा समाजले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै शर्माले विदेशमा रहेका नेपालीहरूको पनि यस अभियानमा अहम् भूमिका रहने स्पष्ट पारे।
उनले कतारस्थित नेपाली संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा समुदायलाई गोलबद्ध गर्दै प्रभावकारी राहत अभियान चलाउन एनआरएनए एनसीसी कतारलाई आग्रह गरे।
विदेशस्थित विभिन्न कम्पनी तथा व्यक्तिहरू सहयोग गर्न इच्छुक रहेको बताउँदै शर्माले सो रकम नेपाल पठाउने प्रक्रिया सहज, पारदर्शी र आधिकारिक बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिए।
पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्नेसँगै प्रभावित क्षेत्रमा सुरक्षित र दीर्घकालीन संरचना निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।
भोटेकोशी क्षेत्रको प्राकृतिक विपत्तिले नेपालमा विपद् व्यवस्थापन, पूर्वाधार सुरक्षा र दीर्घकालीन रणनीतिको आवश्यकतालाई पुनः उजागर गरेको शर्माले बताए। राष्ट्रिय विपत्तिको यस घडीमा विदेशमा रहेका नेपाली समुदायलाई सक्रिय भई नेपालका पीडित परिवारहरूसम्म सहयोग पुर्याउन उनले अपिल गरे।
No ads found for this position



Facebook Comment