‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’

डिसी नेपाल
२४ भदौ २०८३ १३:३०

रसुवा । सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन–तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ ।

बाढीपछि सडकमार्ग विच्छेद भएका हाकु, गत्लाङलगायतका गाउँबस्तीमा आज पनि दुईवटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोली उद्धार तथा राहत वितरणमा संलग्न सबै पक्षसँग समन्वय र सहकार्य गर्दै उद्धारसहित राहत वितरणमा अहोरात्र खटिएको छ ।

सङ्घीय सरकारको सहयोगमा बाढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा तुइन जडान गर्ने काम अघि बढेको छ । उद्धारकार्यमा कठिन देखिएको चिलिमे जलविद्युत् केन्द्रको टनेलभित्रको बाटो खुलाउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोग लिई नेपाली सेना नेतृत्वको टोलीले अहिले पनि युद्धस्तरमा सक्रिय भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

यसैगरी, काठमाडौँ–स्वयम्भूस्थित ‘छाउनी गुम्बा’का तर्फबाट उत्तरी रसुवाका ठूलो स्याफ्रु, ब्रिदिम, थाम्जिङ, शेर्पागाउँका बासिन्दालाई लक्षित गरी ठूला ४२ र साना ११० गरी १५२ वटा सोलर प्राप्त भएको स्थानीयवासी उमेश तामाङले जानकारी दिए ।

त्यस्तै, राहत वितरणका क्रममा रसुवा–नुवाकोट पर्यटन समाजका तर्फबाट दक्षिण रसुवास्थित राम्चे, धइबुङ, जिबजिबे क्षेत्रका पीडितका लागि ३५ वटा जेनेरेटर प्रदान गरिएको अध्यक्ष बलराम न्यौपानेले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *