बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति प्रदान गरियोस् : फोरएच नेपाल
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच नेपालले सरकारसँग माग गरेको छ।
फोरएच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले जारी गरिएको वक्तव्यमा यहीं भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको जनाईएको छ।
बाढीपहिरोका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा किसान तथा कृषि उद्यमीहरूले खेतीयोग्य जमिन, बाली, पशुचौपाया, कृषि सामग्री तथा कृषि पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको वक्तव्यमा जनाइएको छ।
तर, प्रभावित किसानको वास्तविक संख्या, क्षतिग्रस्त खेतबारी, पशुधन तथा कृषि उत्पादनको स्पष्ट विवरण सार्वजनिक नभएको र राहत तथा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको फोर एच नेपालले जनाएको छ।
फोरएच नेपालले भोटेकोशी बाढीबाट प्रभावित किसानको संख्या, खेतबारीमा भएको क्षति, पशुचौपायाको विवरण तथा बाढीबाट बगाइएका वा क्षतिग्रस्त दुग्ध तथा तरकारी संकलन केन्द्र, हाटबजारलगायत कृषि संरचनाको तथ्यांक तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग माग गरेको छ।
अवस्थीद्धारा जारी वक्तव्यमा प्रभावित किसान तथा कृषि उद्यमीलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, क्षति भएको कृषि उत्पादन, पशुधन, सामग्री तथा पूर्वाधारको मूल्यांकन गरी हानीनोक्सानीका आधारमा क्षतिपूर्ति दिन तथा प्रभावित परिवारका लागि वैकल्पिक आयआर्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
यसैगरी, बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुल, सडक तथा आवतजावतका मार्ग क्षतिग्रस्त वा बगाइएका कारण उक्त क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ भइरहेको फोर एचले नेपालले जनाएको छ। यातायात तथा बजार पहुँचको अभावमा कृषि उत्पादन खेर जाने अवस्था बढ्दै जाँदा किसान थप आर्थिक संकटमा परेको संस्थाको भनाइ रहेकोछ।
जारी वक्तव्यमा कृषि उपजको वैकल्पिक ढुवानी तथा बजारीकरणको तत्काल व्यवस्था गर्न, अस्थायी कृषि संकलन केन्द्र स्थापना गर्न तथा प्रभावित किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह तथा नेपाल सरकारसँग आग्रह गरेको छ।
साथै, प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि लागि नेपाल सरकार, दातृ निकाय, सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई सहकार्य र सहयोगका लागि फोर एच नेपालले अपिल गरेकोछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment