कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग
काठमाडौ। नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए।
सङ्घका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रूपमा पूरा गर्दै आएको बताए। कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम सङ्कलन गरिएको उनको भनाइ थियो।
सङ्घका अनुसार जेनजी सहिद दिवस तथा नेपाल चलचित्र कलाकार सङ्घको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment