बागलुङको जंगलमा तीन थान भरुवा बन्दुक फेला, म्याग्दीकी महिला लागुऔषधसहित पक्राउ
बागलुङ । बागलुङमा प्रहरीले जंगलबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पार्नुका साथै ठूलो परिमाणको लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका-५ दागस्थित थानापति सामुदायिक वनबाट शुक्रबार अपराह्न एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।
यसैगरी, बुर्तिबाङ क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टकी सञ्चालक रामकुमारी थापालाई नियन्त्रणमा लिएको छ।
म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङ स्थायी घर भई हाल उक्त होटल सञ्चालन गर्दै आएकी थापाको साथबाट प्रहरीले एक हजार ५०० ग्राम (डेढ किलो) गाँजा र ३८० ग्राम चरेस बरामद गरेको छ।
पक्राउ परेकी थापामाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरी सूचना अधिकारी त्वातीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment