भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन

डिसी नेपाल
२७ भदौ २०८३ १७:५५

काठमाडौं। भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधारलगायत विषयमा अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ।

समितिमा मन्त्रालयका उपसचिव निर्मला गुरुङ, प्रमुख इन्जिनियर शंकर सिंह धामी, सल्लाहकार आरपी महतो तथा यातायात व्यवसायी र मजदुरका प्रतिनिधिहरू सदस्य रहेका छन्।

यसैगरी यातायात क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम तथा मापदण्डलाई समयानुकूल सुधार गर्न अर्को समिति पनि गठन गरिएको छ। मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा गठित समितिले भविष्यमा आउन सक्ने विपद्का समस्या न्यूनीकरण तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे अध्ययन गर्नेछ।

उक्त समितिले ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाइने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *