फलाखु खोलामा फड्के र भोटेकोशी नदीमाथि तुइन निर्माण, रसुवा–नुवाकोट आवागमन सहज
रसुवा । बाढीका कारण पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलाको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि स्थानीयवासीको आवतजावत प्रभावित बनेको थियो।
तत्काल आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा पैदल यात्रुलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यले वैकल्पिक संरचना निर्माण गरिएको हो। स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ। उक्त काम एक–दुई दिनभित्र सम्पन्न गरी तुइन पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए।
समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाले सहयोग गरेका थिए। सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा तत्कालका लागि आवागमन सञ्चालन गर्न सकिने वैकल्पिक संरचना तयार गरिएको हो।
त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।
फड्के तथा तुइन निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको उत्तरी रसुवाका बासिन्दालाई आवतजावतमा राहत पुगेको छ। विशेषगरी गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेललगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको जनाइएको छ।
यसैगरी, बेत्रावतीको फड्के निर्माणपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको छ। तत्कालका लागि वैकल्पिक संरचना निर्माण गरिएपछि स्थानीयवासीलाई दैनिक कामकाज, खाद्यान्न तथा अन्य आवश्यक सामग्री ओसारपसारमा समेत सहज हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले भने फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो आवागमनका लागि बेलिब्रिज निर्माण गर्न माग गरेका छन्। बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment