भोटेकोशी बाढी: १,३९५ को शव फेला, ५,१३० जना अझै बेपत्ता
काठमाडौं। भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको रहेको छ।
त्यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको छ।
भ्रामक वा अस्पष्ट पहिचानका कारण हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्रै सनाखत हुन सकेको छ। बाँकी शवहरूको पहिचानका लागि डिएनए (DNA) परीक्षणलगायतका प्राविधिक प्रक्रियाहरू द्रुत गतिमा अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ७३७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई विभिन्न ३३ वटा होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ, जसमध्ये नुवाकोटमा १,४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन्।
घाइतेहरूको उपचारका लागि विभिन्न १९ वटा अस्पतालहरूमा ३४१ जनालाई भर्ना गरिएकामा २७८ जना निको भएर घर फर्किसकेका छन्। यसका साथै सुरक्षा निकायहरूमार्फत सञ्चालित स्वास्थ्य शिविरबाट थप ९ हजार ३५८ जनाले उपचार सेवा लिएका छन्।
प्रभावित क्षेत्रमा परेको मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले चलाएका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श दिइएको प्रवक्ता महतले जानकारी दिनुभयो।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राज्यका सम्पूर्ण निकाय, सुरक्षाकर्मी र स्थानीय तहहरू राहत, पुनर्स्थापना र बेपत्ता नागरिकहरूको खोजी कार्यमा पूर्ण क्षमताका साथ जुटिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment