बाँदर धपाउन हानिएको गोली लागेर एक जनाको मृत्यु

डिसी नेपाल
३० भदौ २०८३ १९:०९

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।

मङ्गलबार दिउँसो मकैबारीमा आएको बाँदर धपाउने क्रममा स्थानीय ५४ वर्षीय भलबहादुर तामाङले प्रहार गरेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।

खार्मीको निङ्गालेस्थित महभीरका भलबहादुर र श्यामबहादुर दैनिकजसो मकैबारीमा दुःख दिने बाँदर धपाउन सँगै गएका थिए।

दुवै जनाले वल्लो र पल्लो डाँडाबाट घेरा हालेर बाँदर धपाउने क्रममा भलबहादुरले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेका थिए। तर, सोही समयमा आइपुगेका श्यामबहादुरको टाउकोमा गोली लाग्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको हो।

घटनालगत्तै भरुवा बन्दुक प्रहार गर्ने भलबहादुर आफैँले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। खबर पाउनासाथ प्रहरी चौकी खार्मीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।

स्थानीय वडा सदस्य वीरेन्द्र राईले सर्जमिन मुचुल्का तयार गरी मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला सदरमुकाम पठाउने तयारी भइरहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *