रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने शीर्ष बैठकको निर्णय
काठमाडौं। राष्ट्रिय राजनीतिक दलहरूको शीर्ष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।
बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले उक्त संयन्त्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राष्ट्रिय जनमोर्चालगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू समावेश रहने जानकारी दिए।
“बाढी आएकै भोलिपल्ट पार्टी सभापतिज्यूले सर्वदलीय संयन्त्रको बैठक आह्वान गर्नुभएको थियो,” प्रवक्ता खरेलले भने, “मुलुकको समग्र विकास निर्माण र विपद् जोखिम न्यूनीकरणका कामहरूलाई दीर्घकालीन तथा दिगो रूपमा अगाडि बढाउन यो उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको छ।”
प्रवक्ता खरेलका अनुसार संसद्मा प्राप्त सिट सङ्ख्याका आधारमा सबै दलहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमतिसमेत शीर्ष बैठकमा जुटेको छ।
संसद्भित्रबाटै यस्तो शक्तिशाली समिति निर्माणका लागि सम्पूर्ण दलहरू सहमत भएकाले समिति गठन प्रक्रिया अघि बढाउन सभामुख तथा संसद्समक्ष औपचारिक रूपमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
खरेलका अनुसार, “सर्वदलीय संसदीय उच्चस्तरीय संयन्त्र बनाउने सहमति भएको छ। त्यसलाई सम्बोधन गर्दै एक हप्ताभित्र संसदीय समिति बनाउन र संसद्मा प्राप्त सिट सङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी सभामुख तथा संसद्समक्ष अनुरोध गरिनेछ। संसद्भित्रैबाट समिति बनाउन सबै दलहरू तयार हुनुभएको छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment