ग्यासको कालोबजारी र महँगी नियन्त्रण गर्न अर्जुन नरसिंह केसीको माग

डिसी नेपाल
३१ भदौ २०८३ १४:०५

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, बजारमा बढ्दो अस्वाभाविक महँगी र बाढीपहिरो पीडितको उद्धार तथा राहतमा भएको सुस्ततातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि बजारमा आपूर्ति आधाभन्दा कम रहेको जानकारी दिए।

सर्वसाधारण घण्टौं लाइन बस्दा पनि ग्यास नपाएर सास्ती भोग्न बाध्य भएको, तर कालोबजारमा भने प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सजिलै उपलब्ध हुने परिस्थिति बनेको भन्दै उनले आक्रोश व्यक्त गरे।

उनले भने, ‘काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधाभन्दा कम छ । घन्टौं लाइन बस्दा पनि ग्यास नपाइने तर कालोबजारमा सजिलैसँग २६०० रुपैयाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ । यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो।’

सांसद केसीले कानुनी अधिकारको दुहाई दिने अनुगमन निकायहरू बजारको यस्तो अराजकता हेरेर मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाए।

उनले अगाडि भने, ‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ । विपद्को बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो । तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन् सभामुख महोदय ।’

सम्बोधनका क्रममा उनले रसुवा र नुवाकोटमा भीषण बाढी-पहिरो आएको तीन हप्ता बितिसक्दा पनि उद्धार, राहत र खोजी कार्य प्रभावकारी हुन नसकेको भन्दै संसद्बाटै उच्चस्तरीय समिति गठन गर्न माग गरे।

उक्त विपद्को अवस्था चित्रण गर्दै उनले भने, ‘रसुवा, नुवाकोटमा आएको भीषण बाढीको दुःखद वितण्डा तीन हप्ता नाग्यो । यसले हजारौँ नागरिकको जीउज्यान समाप्त पारे, जीवित रहेका दसौँ हजारको पारिवारिक जीवन उजाडेको छ । भने पाँच हजारभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। खोजी कार्य अझै जारी छ ।’

नुवाकोटको विदुर र त्रिशूली आवतजावत तथा रसुवासँगको यातायात सम्पर्क अझै सहज हुन नसकेको र प्रभावित क्षेत्रमा रोगब्याधी फैलन थालेको प्रति उहाँले चिन्ता व्यक्त गरे। सो क्षेत्रमा यातायात सुचारु गर्नका लागि उनले बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज निर्माण गर्नुपर्ने माग राखे।

उनले भने, ‘बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज पुल निर्माण अत्यन्त जरुरी छ।’

प्राकृतिक सङ्कटका बीच बजारमा खाद्यान्न तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै केसीले कालोबजारी नियन्त्रण गर्न सरकारसँग कडा कदम चाल्न आग्रह गरे।

प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘राष्ट्रिय शोकको, शोक र विपत्तिको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई बाढी पीडितहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यमा राज्यलाई सहयोग गर्न चाहन्छौँ। तर त्यसको बाबजुद पनि जुन त्रासदी, यो अहिले देखिएका त्रासदी बाढी-पहिरोको आडमा आम जनताको भान्सामा माथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन।’

चामल, तेल, चिनी, मासु, अण्डा लगायतका दैनिक उपभोग्य खाद्य वस्तुको मूल्य अनियन्त्रित रूपमा बढेको उल्लेख गर्दै उनले महँगी नियन्त्रणमा सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताए।

कृत्रिम अभाव सिर्जना गरी खाद्यान्न र इन्धनको मूल्य बढाउँदा गरिब तथा मध्यमवर्गीय परिवार थप मारमा परेको र भोकै बस्ने अवस्था सिर्जना भएको उनले औँल्याए।

सरकारलाई चेतावनी दिँदै उनले भने, ‘खाद्यान्न र इन्धनको कृत्रिम अभावले गरिब तथा मध्यमवर्गीय परिवारलाई भोकै बस्ने स्थितिमा पुर्‍याएको छ भने जुन जनताको विरुद्धको अपराध पनि हो। यदि सरकारले अविलम्ब बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी माथि कडाभन्दा कडा कारबाही गर्दैन र आपूर्ति सहज बनाउँदैन भने पीडित जनता बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था, विवशताले निम्त्याउँछ।’

बढ्दो महँगी, अस्वाभाविक मूल्यवृद्धि र बेरोजगारीका कारण जनतामा व्यापक असन्तुष्टि फैलन सक्ने भन्दै उनले समयमै गम्भीर हुन सरकारलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *