अर्थ समितिबाट नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकबाट ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले पेस गरेको उक्त प्रतिवेदनमाथि विस्तृत छलफल पछि सर्वसम्मत रूपमा पारित गरिएको हो।
छलफलका क्रममा सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिभित्र लामो तर्क, संवाद र दफावार छलफल भएको जानकारी दिए। उनले आवश्यक परेका विषयहरूमा संशोधन प्रस्ताव दर्ता गरी गहन छलफल पश्चात् नै प्रतिवेदनलाई अन्तिम रूप दिइएको बताए।
समितिका सम्पूर्ण निर्णयहरू सर्वसम्मत रहेको र तिनै निर्णयका आधारमा तयार पारिएको प्रतिवेदनलाई सदनमा पेस गर्नुअघि अन्तिम जाँच गर्न बैठक केन्द्रित रहेको उनले स्पष्ट पारे। समितिका सदस्यहरूलाई थप सुझाव वा धारणा भए लिखित रूपमा समिति सचिवालयमा दर्ता गराउन सकिने व्यवस्था गरिएको छ।
ऐन संशोधनको यस प्रक्रियासँगै मुलुकले आर्थिक फड्को मार्नुपर्नेमा जोड दिँदै सभापति बुढाथोकीले राष्ट्र बैंकको नेतृत्व चयन र कार्यसम्पादनलाई चुस्त तथा प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताए। समितिले प्रतिवेदनलाई अनावश्यक ढिलाइ नगरी शिघ्र सदनमा पेस गर्ने तयारी गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment