प्रतिनिधिसभा बैठक

सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग

डिसी नेपाल
३१ भदौ २०८३ १४:२४

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसदहरूले विपद्पछिको उद्धारका साथै मुलुकमा सुरक्षित यातायात व्यवस्थापनका लागि सडक सुरक्षामा विशेष ध्यान दिन र सवारी चालकको अनुभव तथा परिपक्वतालाई अपरिहार्य बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीपछिको खोज र उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन तथा राहत र पुनर्स्थापनाका कामहरू अघि बढाउन सरकार गम्भीर हुनुपर्ने बताए।

उनले यस संकटको घडीमा आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको जानकारी दिँदै विपद्मा पारदर्शी, प्रभावकारी राहत र उद्धारका लागि संसद्बाटै सर्वदलीय समिति निर्माण गर्नु अत्यावश्यक रहेकोमा जोड दिए।

साथै, सांसद केसीले बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूमा देखिएको अस्वाभाविक कालोबजारी र महङ्गी नियन्त्रण गर्न तथा काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाई आपूर्ति सहज बनाउन सरकारसँग कडा माग गरे।

यस्तै, सांसद पुकार बमले मकवानपुरमा मङ्गलबार भएको विद्युतीय गाडी (इभी) दुर्घटनाको घटनाबारे संसद्लाई जानकारी गराउँदै सुरक्षित यातायातका लागि सडक सुरक्षा, चालकको परिपक्वता र अनुभवको सन्दर्भमा गम्भीरतापूर्वक ध्यान दिइनुपर्ने माग राखे।

नेपालका लागि विद्युतीय गाडीको प्रविधि नयाँ भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्री तथा चार्जिङ सावधानी र आगलागी नियन्त्रणका उपायबारे नागरिक तथा चालकहरूलाई सचेत गराउन अनिवार्य रूपमा ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्न उनले सरकारसँग जोडदार माग गरे।

बैठकमा सांसद धनञ्जय रेग्मीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारणले भएको भन्नेमा कुनै शंका वा दुईमत नरहेको उल्लेख गर्दै नेपाल आफैँसँग भएका प्रमाणका साथै इसिमोड (लगायतका अन्तर्राष्ट्रिय निकायहरूले गरेका अध्ययन र अनुसन्धानले समेत उक्त विषय पुष्टि गरिसकेको बताए।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्र उच्च जोखिममा परेको र प्रभावित बनेको उल्लेख गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा हुने सहभागितामा सिङ्गो देशको संयुक्त धारणा हुने गरी विषयवस्तु तयारी गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तन र हिमाल बचाउका मुद्दामा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गरी विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायलाई प्रष्ट सन्देश दिनुपर्ने सांसद रेग्मीको भनाइ थियो।

यसैगरी, सांसद माधवबहादुर थापाले पाल्पाको सिद्धबाबा क्षेत्रमा दिनहुँ हुने जोखिमपूर्ण दुर्घटनाका बारेमा संसद्लाई जानकारी गराउँदै सो क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको काम अन्तिम चरणमा पुगेकाले चाँडो निर्माण सम्पन्न गर्न काममा तीव्रता दिन आग्रह गरे। उनले सुरुङ निर्माण नसकिउन्जेल वैकल्पिक सडकको स्तरोन्नति, निर्माण र मर्मतका लागि सरकारको ध्यान जानुपर्ने बताए।

अर्का सांसद दीपककुमार शाहले महोत्तरीमा स्थानीय नागरिकहरूले विकास निर्माणको जायज माग गर्दा झडपको घटना हुनु अत्यन्त दुःखद भएको उल्लेख गर्दै उक्त विषयका बारेमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषमाथि कारबाही गर्न माग गरे।

साथै, सांसद लालविक्रम थापाले सुनसरीको इटहरी बजारको शिरबाट बग्ने खोला भत्केर सिङ्गो बजार क्षेत्र जलमग्न भएको जानकारी गराउँदै बाँधभन्दा खोलाको सतह अग्लो भएको र खोलाले आफ्नो प्राकृतिक धार परिवर्तन गरेकाले समयमै रोकथाम तथा कटान नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *