राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीद्वारा बाढीपीडितका सहयोग रकम हस्तान्तरण

डिसी नेपाल
३१ भदौ २०८३ १५:१६

काठमाडौ। भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको अपार जनधनको क्षतिबाट पीडित रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका नागरिकहरूको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकका करिब ६ सय जना सेवानिवृत्त कर्मचारीहरूबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी आज उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेश विक्रम थापाले रू. १५ लाख ७४ हजार ५४७ रूपैयाँ ११ पैसाको चेक हस्तान्तरण गरेका छ्न्।

संघको तर्फबाट चेक बुझ्दै मन्त्री विराजभक्त्त श्रेष्ठले राष्ट्रिय वाणिज्य वैंक पूर्व कर्मचारी संघको नारा, नारा अनुसारको गतिविधिहरू वारे सुन्दा खुसी व्यक्त गर्दै राज्यलाई अप्ठेरो पर्दा दिनु भएको साथ र सहयोगका लागि मन्त्रालयको तर्फवाट, सरकारको तर्फबाट संघ र सहयोगी मनहरूलाई धन्यवाद दिए। साथै वैकिङ क्षेत्रको यहाँ हरूको अनुभव राज्यको लागि उपयोगी हुने र राज्यले त्यसको उपयोग गर्नु पर्ने कुरामा जोड दिए।

हिमाली सुनामीबाट आफ्नै नेपाली दाजुभाइ बिचल्लीमा परेको दु:खदायी अवस्थामा सेवानिवृत्त कर्मचारीहरूले यथाशक्य सहयोग गर्नु पर्छ , यो राज्यप्रतिको हाम्रो दायित्व र पीडित प्रतिको मानवीय कर्तव्य समेत हो भन्ने मानवीय भावनाले प्रेरित भएर सहयोग संकलन अभियान चलाइएको जानकारी संघका अध्यक्ष थापाले दिए।

महासचिव लक्ष्मीप्रसाद पराजुलीले संघको उद्देश्य, कार्यक्रम र संघका गतिविधि सहित संघको परिचय दिएका थिए। उक्त अवसरमा संघको केन्द्रीय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बि.सं. २०५५ मा स्थापित राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघमा झण्डै ३ हजार सेवानिवृत्त कर्मचारी संगठित छन्। मेचीदेखि महाकालीसम्म ३७ वटा इकाइहरू मार्फत संघले सेवानिवृत्त कर्मचारीहरूलाई विभिन्न सामाजिक कार्यमा सक्रिय गराउँदै आएको छ।

“खुसीले वाँचौँ” भन्ने मूल नारा अघि सार्दै सेवानिवृत्त कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थको लागि संघले पूर्व कर्मचारीहरूको नियमित भेटघाटको व्यवस्था गरी विभिन्न समयमा स्वास्थ शिविर, सचेतना कार्यक्रम, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम, पदयात्रा, तिर्थयात्रा लगायतका कार्यक्रममा सहभागी गराउँदै आएको छ। संघको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *