जलवायु न्याय र हिममण्डल संरक्षणबारे प्रधानमन्त्रीलाई सुझाव दिन कांग्रेसले ‘द ग्रीन टेबल’ आयोजना गर्दै
काठमाडाैं। नेपालको हिममण्डल संरक्षण, जलवायु न्याय र जलवायु परिवर्तनका कारण मुलुकले व्यहोर्नुपरेको नोक्सानीको क्षतिपूर्तिबारे सशक्त आवाज उठाउने उद्देश्यका साथ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘द ग्रीन टेबल’ को १८औं विशेष शृङ्खला आयोजना गर्ने भएको छ।
आगामी संयुक्त राष्ट्रसीय महासभामा नेपालको तर्फबाट जलवायु न्यायका मुद्दाहरू दृढतापूर्वक प्रस्तुत गर्नका लागि सम्माननीय प्रधानमन्त्रीलाई ठोस सुझाव प्रतिवेदन बुझाउने हेतुले यो अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
पार्टीको १५ औं महाधिवेशनअन्तर्गत भदौ ३ गतेदेखि सुरु हुने वडा अधिवेशनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस कार्यक्रममा नेपालको वातावरणीय चुनौती, हिममण्डलमा आएको ह्रास र भोटेकोशी क्षेत्रको जोखिमबारे विज्ञहरूबीच गहन मन्थन हुनेछ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा यही असोज २ गते शुक्रबार दिउँसो २ बजे तय गरिएको उक्त कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा र प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङदेम्बेले विशेष वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
त्यस्तै, ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता सबिन दवाडीले विषय प्रवेश गराउने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. वसन्तराज अधिकारी र जलवायु विज्ञ डा. अरूणभक्त श्रेष्ठले वातावरणीय जोखिम र आगामी कदमबारे विशेष प्रस्तुति दिनेछन्।
वातावरण विज्ञ डा. भुपेन्द्र दास र अधिवक्ता रोशनी गिरी सहभागी रहने प्यानल छलफलको सहजीकरण वातावरण अभियन्ता भोला भट्टराईले गर्ने कांग्रेसले जनाएकाे छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment