पछिल्लो विपद्‌बाट जीडीपीको ६ प्रतिशत क्षति, वित्तीय साक्षरता विस्तार आवश्यक: डा. गुणाकर भट्ट

डिसी नेपाल
२ असोज २०८३ १२:१३

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले बर्सेनि ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।

शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले पछिल्लो विपद्का कारण कुल ४ सय अर्ब रुपियाँ बराबरको नोक्सानी भएको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत क्षति पुर्‍याएको जानकारी दिए।

यसअघि भूकम्पबाहेकका अन्य प्राकृतिक विपद्का कारण नेपालले हरेक वर्ष जीडीपीको करिब दुई प्रतिशत बराबरको आर्थिक नोक्सानी व्यहोर्ने गरेको तथ्यांक रहेको उनले उल्लेख गरे।

उनले प्राकृतिक विपद् र जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

वित्तीय सेवा प्रवाह तथा साक्षरताका कार्यक्रमहरू वातावरणीय जोखिम र जलवायु परिवर्तनका असरहरूसँग अन्तरसम्बन्धित हुनुपर्नेमा जोड दिँदै उनले पछाडि परेका क्षेत्र, समुदाय तथा महिला उद्यमीहरूसम्म यस्ता जानकारीमूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताए।

सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले नेपालको वित्तीय क्षेत्रमा ठूलो सम्भावना भए तापनि वित्तीय साक्षरताको कमीका कारण त्यसको पूर्ण उपयोग हुन नसकेको बताए।

सचिव उपाध्यायले वित्तीय साक्षरतालाई केवल जोखिम व्यवस्थापनका रूपमा मात्र नहेरी अर्थतन्त्रमा पैसाको प्रवाह (क्यास फ्लो) बढाउने माध्यमका रूपमा लिनुपर्ने स्पष्ट पारे।

वित्तीय प्रणालीमा नगदको चक्र जति बढ्दै जान्छ, अर्थतन्त्र त्यति नै चलायमान र लाभान्वित हुने भएकाले पैसाको गतिशीलता (मोबिलिटी) बढाउन वित्तीय साक्षरताको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *