भोटेकोशी बाढी पीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीद्वारा प्रधानमन्त्री राहत कोषमा १३ लाख बढी सहयोग
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूबिच राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले रु. १४ लाख ७० हजार ६६६ संकलन गरेका छन्।
संकलित रकममध्ये १० प्रतिशत (रु. १ लाख ५० हजार ६६६) विपद्बाट प्रत्यक्ष प्रभावित हिमालय एयरलाइन्सका कर्मचारीका परिवारलाई सहयोगस्वरूप उपलब्ध गराइएको छ। बाँकी रु. १३ लाख २० हजार ६६६ रकम बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको छ।
राष्ट्रिय विपद्को यस कठिन घडीमा हातेमालो गर्दै हिमालय एयरलाइन्सका विभिन्न विभागमा कार्यरत कर्मचारीहरूले स्वैच्छिक रूपमा यो रकम संकलन गरेका हुन्।
यसका साथै, कर्मचारीहरूले एकजुटका साथ लुगाफाटा संकलन गरी ‘काठमाडौँ स्कुल अफ ल’लाई हस्तान्तरण गरेका छन्, जसले प्रभावित समुदायलाई आवश्यक सामग्री पुर्याउन सहयोग पुग्नेछ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले उक्त रु. १३ लाख २० हजार ६६६ को चेक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) लाई हस्तान्तरण गर्नुभएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका बस्तीहरूमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका छन्।
साथै घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ। एयरलाइन्स परिवारले बाढी प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक संवेदना प्रकट गर्दै शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कामना गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment