११ फरार प्रतिवादी पक्राउ
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले भदौ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्दै एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट कुल दुई वर्ष एक महिना चार दिन कैद सजाय र ३ लाख ७४ हजार रुपियाँ जरिवाना असुल गर्नुपर्ने रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार भदौ महिनामा १८ वटा नयाँ मुद्दा दर्ता भएका छन्। जसमध्ये जघन्य तथा गम्भीर अपराधका ६, आर्थिक अपराधको १, सामाजिक अपराधका २ र अन्य ९ वटा मुद्दा रहेका छन्। प्रहरीले चालु र पुराना (पेन्डिङ) गरी १० वटा मुद्दा फर्स्योट गरेको छ भने अनुसन्धानका क्रममा २६ जनालाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दाका २ अभियुक्त भने अझै फरार छन्।
भदौमा जिल्लाभित्र भएका १५ वटा सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने २१८ वटा सवारी साधनलाई कारबाही गरी २ लाख २ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करीमा संलग्न ४ वटा टिप्पर र ३ वटा ट्याक्टर गरी ७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, वनमा लुकाएर राखिएका ७ नाल भरुवा बन्दुक बरामद गरिएको छ भने १४० मिलीग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरिएको छ।
भदौ महिनामा हराएका ३ महिला, ३ पुरुष र २ बालिका गरी कुल ८ जनालाई नै सुरक्षित रूपमा फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। साथै, घरेलु हिंसासम्बन्धी प्राप्त एक उजुरीमा दुवै पक्षबिच छलफल गराई मिलापत्र गराइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment