दुईवटा महाधिवेशन हुने परिस्थिति बन्यो, कांग्रेस विभाजनको अन्तिम विन्दुमा: पूर्णबहादुर खड्का

डिसी नेपाल
४ असोज २०८३ १०:३२

काठमाडौं। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी इतिहासकै गम्भीर मोडमा पुगेको र कुनै अप्रत्याशित राजनीतिक चमत्कार नभए फुटको अन्तिम डिलमा पुगिसकेको चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै नेता खड्काले कांग्रेसको विभाजनले पार्टीलाई मात्र नभई समग्र राष्ट्रिय राजनीति र लोकतान्त्रिक व्यवस्थामा समेत दीर्घकालीन र गम्भीर असर पार्ने बताएका हुन्।

पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सुरु भएको विवाद सर्वोच्च अदालतमा पुनरवलोकनको चरणमा विचाराधीन छ।

तर, मुद्दाको अन्तिम निरूपण नहुँदै सभापति गगन थापाको नेतृत्वमा महाधिवेशनको प्रक्रिया अघि बढाइएकाले पार्टीभित्र समानान्तर दुईवटा महाधिवेशन हुने परिस्थिति बनेको खड्काको भनाइ छ। यसले कांग्रेसलाई औपचारिक विभाजनतर्फ ढकेलेको उनले उल्लेख गरेका छन्।

नेता खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्मित नेतृत्वविरुद्ध आफूहरू अदालत गएको स्मरण गराउँदै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आह्वान गरेको महाधिवेशन प्रक्रियामा आफ्नो कुनै सहभागिता नरहेको स्पष्ट पारेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्नुको मुख्य कारण पनि यही वैधानिक प्रश्न र नैतिक निष्ठा रहेको उनले खुलाएका छन्।

विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै सर्वोच्चमा मुद्दा दायर गरेको अवस्थामा सोही नेतृत्वबाट जारी टिकट लिएर चुनाव लड्नु राजनीतिक सिद्धान्त र नैतिकता विपरीत हुने भएकाले आफू चुनावी मैदानबाट बाहिरै बसेको खड्काको दाबी छ।

यसअघि सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको निर्णयलाई निरन्तरता दिँदै दायर रिट खारेज गरेपछि संस्थापन इतर समूह पुनरवलोकनका लागि पूर्ण इजलासमा पुगेको थियो।

पूर्ण इजलासले प्रारम्भिक फैसलामा त्रुटि औंल्याउँदै मुद्दा पुनरवलोकनको अनुमति (निस्सा) दिएकाले यो विषय अझै विचाराधीन रहेको खड्काको भनाइ छ। यद्यपि, मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशनका सम्पूर्ण कार्यतालिका रोक्न माग गर्दै हालै हालिएको अन्तरिम आदेशको निवेदनमा भने सर्वोच्चले महाधिवेशन रोक्न अस्वीकार गरेको थियो।

महाधिवेशन नरोकिने कानुनी बाटो खुलेपछि कांग्रेसका दुवै पक्षले अलग-अलग महाधिवेशनको कार्यतालिका तय गरेका छन्। जसका कारण पार्टी व्यावहारिक रूपमै दुई फ्याक हुने स्थितिमा पुगेको छ।

पार्टीलाई सम्भावित दुर्घटनाबाट जोगाउन खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरवलोकन मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी अग्राधिकार दिएर शीघ्र अन्तिम फैसला सुनाइदिन सार्वजनिक आग्रह गरेका छन्।

साथै, उनले सभापति गगन थापालाई पनि घोषित महाधिवेशनका कार्यक्रम केही समयका लागि स्थगित गरी पूर्वसभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग निर्णायक वार्ता गर्न र पार्टी एकता जोगाउन आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *