उबरद्वारा ५० लाख रुपैयाँको सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु
काठमाडौं। नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सघाउने उद्देश्यले उबर (Uber) ले ‘राइड फर नेपाल’ (Ride for Nepal) अभियान सुरु गरेको छ।
यस अभियानमार्फत कम्पनीले आफ्नो यातायात (मोबिलिटी) सञ्जाललाई राष्ट्रिय विपद् राहत कार्यसँग जोड्दै यात्रु तथा चालक दुवैलाई सामाजिक सहयोगमा सहभागी हुन आह्वान गरेको छ।
अभियानअन्तर्गत उबरले बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत सामग्री, अस्थायी आश्रय र पुनर्स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसबाहेक, अभियान अवधिभर उबर एपमार्फत पूरा हुने हरेक उबर बाइक (Uber Bike) यात्राबापत १० रुपैयाँ र हरेक उबर क्याब (Uber Cab) यात्राबापत २० रुपैयाँ कम्पनीले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ।
यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले पाउने रकममा कुनै थप शुल्क लाग्ने छैन। यात्रु र चालक दुवैका लागि साविककै दर कायम रहनेछ भने प्रत्येक सम्पन्न यात्राबापतको थप रकम उबरले स्वयं उपलब्ध गराउनेछ।
उबरको नेपालका लागि रणनीतिक साझेदार ‘ट्याक्सीमान्डु’ का संस्थापक तथा मुख्य कार्यकारी अधिकृत अर्जुन केसीले दैनिक यात्रालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यो अभियानमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने बताए।
उनले यो अभियान विपद्का वेला सबै एकजुट भएर सहयोग पुर्याउने अवसर भएको उल्लेख गर्दै धेरैभन्दा धेरै यात्रा सम्पन्न गरी राहत रकम जुटाउन अपिल गरे।
त्यस्तै, उबर इन्डिया र दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहका अनुसार उबरले आफू सेवारत समुदायप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेको छ।
नेपालमा राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेकाले रेडक्रससँगको सहकार्य र आफ्ना स्रोतहरूको उपयोग गरी बाढी प्रभावित क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखिएको उनले बताइन्।
यात्रुहरूले उबर एपमार्फत नियमित यात्रा बुक गरेर र चालकहरूले एपमा अनलाइन भई यात्रा स्वीकार तथा पूरा गरेर यस अभियानमा प्रत्यक्ष योगदान पुर्याउन सक्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment