अशोक दर्जी आर्थिक संकटमा: ‘न मसँग पैसा छ, न बैंक ब्यालेन्स, फेरि सडकमै आइपुगें’

डिसी नेपाल
४ असोज २०८३ १४:४१

काठमाडौं। चर्चित बालगायक अशोक दर्जीले सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै आफ्नो वर्तमान नाजुक आर्थिक अवस्था र जीवनका भोगाइहरू सार्वजनिक गरेका छन्।

बाल्यकालमै असाधारण गायकीका कारण देशभर चर्चामा आएका उनले अहिले आफू गम्भीर आर्थिक संकट र उतारचढावबाट गुज्रिरहेको बताएका छन्।

“मेरो लाइफमा मैले हार पनि खाएँ, जितेँ पनि, फेरि लडेँ पनि। आज म सडकको बच्चा सडकमै छु,” दर्जीले लेखेका छन्। आफूसँग अहिले न त कुनै पैसा छ, न त कुनै बैंक ब्यालेन्स नै बाँकी रहेको उल्लेख गर्दै उनले दर्शक-श्रोता तथा समाजको सहयोगबाट बनेको एउटा घर र कसैले दिएको अधिया जग्गाबाहेक अरू केही नरहेको दुखेसो पोखेका छन्।

सामीप्यमा रहेका संगीतकार टंक बुढाथोकीसँगको पछिल्लो विवाद र सहकार्य अन्त्यतर्फ संकेत गर्दै उनले आफू धेरै थाकिसकेको र अब आफ्नो जीवनलाई सोझो तरिकाले अघि बढाउन चाहेको स्पष्ट पारेका छन्।

झापाको झापा गाउँपालिका निवासी अशोक दर्जीलाई बाल्यकालमा सडकमा गाउँदै गर्दा टंक बुढाथोकीले पहिचान गरी ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ जस्ता चर्चित गीतहरूमार्फत सांगीतिक क्षेत्रमा स्थापित गराएका थिए। त्यसबेला सर्वसाधारण र प्रवासी नेपालीहरूको सहयोगमा उनको परिवारका लागि घरसमेत बनाइदिएका थिए।

चाडपर्व नजिकिँदै गर्दा परिवार र भाइबहिनीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको उनले बताएका छन्। “अब दशैँ-तिहार आउँदै छ, खर्च कसरी चलाउने? पढ्नुपर्ने उमेरमा पैसाको भोक र बाध्यता छ,” उनले लेखेका छन्।

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभई भाग्य भएको भन्दै उनले कसैलाई दोष नदिई आफ्ना गल्तीहरू भए माफी मागेका छन्। आत्मबल र हौसला बाँकी रहेकाले छिट्टै नयाँ गीतहरू लिएर दर्शक-श्रोतामाझ आउने तयारी भइरहेको र सबैको निरन्तर साथको अपेक्षा गरेको उनले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *