विपिन र मिरुनाको मुख्य भूमिका रहेको ‘बखत्ते’ को शुभमुहूर्त
काठमाडौं। आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।
आन्भी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रमा कबड्डी फिल्म्सको सहकार्य रहनेछ। चलचित्रको निर्देशन तथा लेखन उपेन्द्र सुब्बाले गर्नेछन्।
चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन्। त्यस्तै शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक सुब्बाले लामो समय लिएर चलचित्र निर्देशन गर्न लागेको भन्दै कथा दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन्। उनले इमान्दारीपूर्वक कथा लेखेको र चलचित्र पनि त्यही भावनासहित निर्माण गर्ने बताएका छन्। उनको पछिल्लो निर्देशित चलचित्र ‘जारी २’ हो।
चलचित्रका निर्माता आशिष तामाङ र प्रदीपजी धामी हुन् भने युवराज काफ्ले कार्यकारी निर्माता तथा अञ्जु पाण्डे र पुष्कर घिमिरे सहनिर्माता रहेका छन्।
पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। ध्वनि संयोजन उत्तम न्यौपानेले गर्नेछन्। चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ भने गीत युवराज काफ्ले र दानबहादुर कार्कीले लेखेका छन्।
चलचित्रको उत्पादन व्यवस्थापन दिलीप पन्त र रबिन बखरेलले सम्हाल्नेछन्। मेकअप तथा कपाल सज्जा स्वस्तिका श्रेष्ठले गर्नेछिन्। चलचित्रको काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्ने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment