रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने भएको छ।
रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। बैठक समितिका संयोजक तथा पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको थियो।
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्य गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो।
बैठकमा ‘राइट टु रिकल’ अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
सोहीअनुसार ‘राइट टु रिकल’ सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यससम्बन्धी दस्तावेज निर्माण गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले समितिको सचिवमा मनिष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, समितिअन्तर्गत विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत भएको छ।
संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
रास्वपाले ‘राइट टु रिकल’लाई पार्टीले प्राथमिकताका साथ उठाउँदै आएको मुद्दाका रूपमा अघि बढाएको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment