विद्यालय भवनको बिल भुक्तानीमा घुस लिएका तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि घुस मागेको आरोपमा तीन कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न बहाना बनाएर सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेका थिए। उनीहरूले ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंकको क्यूआरमार्फत र ८५ हजार रुपैयाँ सुमन राईले नगद लिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ।
घुस लिइरहेको अवस्थामा आयोगको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट तथा लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा तीनै जनाले पूर्वयोजनाअनुसार घुस रकम बाँडेर लिने सहमति गरेको देखिएको आयोगको दाबी छ।
आयोगले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको भन्दै १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment