प्रविधि कम्पनी गुगललाई ७० अर्ब रूपैयाँ जरिवाना
काठमाडौं । गुगलमाथि आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसनले लोकेसन डेटाको प्रयोगलाई लिएर ४० करोड ३० लाख युरो (करिब ७० अर्ब नेपाली रुपियाँ) जरिवाना लगाएको छ।
यो आइरिस डेटा सुरक्षा प्राधिकरणका तर्फबाट लगाइएका सबैभन्दा ठूला जरिवानाहरूमध्ये एक हो। यो जरिवाना छ वर्षअघि टेक कम्पनीविरुद्ध सुरु गरिएको अनुसन्धानपछि लगाइएको हो। युरोपका धेरै उपभोक्ता अधिकार संगठनहरूले गुगलविरुद्ध उजुरी दिएका थिए।
डीपीसीले सोमबार भनेको छ – उसको अनुसन्धानमा गुगलले डेटाको प्रयोग “कानुनी”, “निष्पक्ष” वा “पारदर्शी” तरिकाले नगरिएको भेटियो।
यो अनुसन्धान गुगलका तीनवटा फिचरहरूमा लोकेसन डेटाको प्रयोगसँग सम्बन्धित थियो। यसमा वेब एन्ड एप एक्टिभिटी, लोकेसन हिस्ट्री र लोकेसन एकुरेसी समावेश छन्। अनुसन्धान २५ मे २०१८ देखि ४ फेब्रुअरी २०२० बीचको डेटा प्रयोगमा केन्द्रित थियो।
लोकेसन डेटाको अर्थ यस्तो कुनै पनि डेटा हो, जसबाट कुनै व्यक्तिको लोकेसन पत्ता लगाउन सकिन्छ।
डीपीसीका डेपुटी कमिसनर ग्राहम डोयलले सोमबार जारी गरेको एक वक्तव्यमा लोकेसन डेटाले “कुनै व्यक्तिका बारेमा निकै जानकारी दिन सक्ने र यसमा पूर्ण रूपमा निजी हुने जानकारी पनि हुन सक्ने” बताएका छन्।
रिपोर्टमा गुगलको डेटा प्रयोग गर्ने तरिकाले जनरल डेटा प्रोटेक्सन रेगुलेसनको “उल्ङ्घन” गरेको उल्लेख छ। जीडीपीआर युरोपेली युनियनको डेटा प्राइभेसी र सुरक्षासँग सम्बन्धित कानुन हो, जुन २५ मे २०१८ मा लागू भएको थियो।
डोयलले भने, “जनरल डेटा प्रोटेक्सन रेगुलेसनले सम्पूर्ण युरोपेली आर्थिक क्षेत्रमा मानिसहरूको निजी डेटालाई ठूलो हदसम्म सुरक्षा दिन्छ। यसअन्तर्गत निजी डेटाको प्रयोग कानुनी, निष्पक्ष र पारदर्शी तरिकाले गरिनु अनिवार्य छ।”
गुगलले एक वक्तव्यमा भनेको छ, “यो मामला ती पुराना नीतिहरूसँग सम्बन्धित छ, जसलाई अब अपडेट गरिसकिएको छ। २०१९ पछि हामीले आफ्ना तरिकाहरूमा व्यापक परिवर्तन गरेका छौँ र लोकेसन डेटा व्यवस्थापन गर्न सहज हुने खालका राम्रा टुल्सहरू सुरु गरेका छौँ।”
गुगलले हालैका वर्षहरूमा डेटा सुरक्षालाई सुधार गर्न धेरै कदमहरू चालेको पनि बताएको छ। यसमा “इन्डस्ट्री-फर्स्ट अटो-डिलिट कन्ट्रोल” पनि समावेश छ। यसको माध्यमबाट सबै प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टमा हरेक तीन, १८ वा ३६ महिनामा डेटा स्वतः डिलिट हुने गरी सेट गर्न सक्छन्।
कम्पनीले निजी डेटाको सुरक्षाका लागि अन्य उपायहरू पनि सुरु गरिएको जनाएको छ। यसमा “सिम्पल एड्स म्यानेजमेन्ट” समावेश छ, जसको माध्यमबाट प्रयोगकर्ताहरूले पर्सनलाइज्ड विज्ञापनहरू पूर्ण रूपमा बन्द गर्न सक्छन्।
कम्पनीले “अझ बढी पारदर्शिता” ल्याएको दाबी पनि गरेको छ। यसमा लोकेसन डेटाको प्रयोग र अकाउन्ट सेटिङ्ससँग सम्बन्धित विस्तृत जानकारीलाई एकै ठाउँमा उपलब्ध गराइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment