पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान ख़ानको पार्टीका शीर्ष नेताको ‘अपहरण’
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सत्तारूढ दल पाकिस्तान तहरिक-ए-इन्साफका प्रान्तीय मन्त्री फजल शकुर खानको अपहरण भएको दाबी सार्वजनिक भएको छ। प्रान्तीय सरकारले पेसावरमा अज्ञात व्यक्तिहरूले फजल शकुर खानको अपहरण गरेको दाबी गरेको छ।
पेसावरमा सोमबार पीटीआईका वरिष्ठ नेताहरूसँग पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सोहेल अफ्रिदीले सादा पोशाकमा आएका मानिसहरूले फजल शकुर खानलाई अपहरण गरेको आरोप लगाए। उनले मन्त्रीको गाडीमाथि गोली हानेको दाबी पनि गरे। मुख्यमन्त्रीले भने, ‘यदि कसैलाई यस्ता कार्यले हाम्रो आन्दोलन कमजोर हुने लाग्छ भने, त्यस्तो हुने छैन।’
पीटीआईले अर्का प्रान्तीय मन्त्री सकिल अहमदसँग पनि आइतबार यस्तै घटना भएको दाबी गरेको छ। पार्टीका अनुसार सकिल अहमदको अपहरणको प्रयासका क्रममा पनि गोलीबारी भएको थियो, तर उनी घटनास्थलबाट उम्कन सफल भए।
यी दुवै घटनालाई लिएर खैबर पख्तुनख्वा प्रान्तीय सभाको सोमबार साँझ आपत्कालीन बैठक बोलाइएको छ। बीबीसीका अनुसार समाचार तयार पार्दासम्म प्रान्तीय सभाको कारबाही जारी थियो। फजल शकुर खानका सचिव मोहम्मद आलमले बीबीसी उर्दूलाई दिएको जानकारीअनुसार यस घटनालाई लिएर चामकनी प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ।
बीबीसीले घटनाका सम्बन्धमा पेसावर प्रहरीका वरिष्ठ अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गर्दै प्रश्नहरूसमेत पठाएको थियो, तर समाचार प्रकाशित हुदासम्म प्रहरीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको थिएन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment