२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

डिसी नेपाल
६ असोज २०८३ २०:११

काठमाडौं। जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ। नेपालले थाइल्यान्डलाई पराजित गरेको हो।

समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो। खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो। नेपाल पहिलो हाफमा १५–२४ अङ्कले पछि परेको थियो।

नेपालले दोस्रो हाफमा पुनरागमन गरेको थियो। दोस्रो हाफमा नेपालले ३१ अङ्क जोड्न सफल भयो। थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो। समूह ‘बी’ मा नेपाल र थाइल्यान्डका साथै श्रीलङ्का र चाइनिज ताइपेइ रहेका छन्।

नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन्। उनले आजको खेलबाट नेपाली टोली उत्साहित भएको बताइन्।

चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन्। यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *