जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिंका कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन्। सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाएका छन्।
सव–इञ्जिनियर थापाले सुरुआती चरणमा करिब १० लाख लगानी गरी फलफूलखेती सुरु गरेका थिए। अहिले उनको बगैँचामा ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति छन्।
उनको बगैँचा व्यावसायिक कृषकदेखि कृषि विषय अध्ययन गर्ने विद्यार्थीका लागिसमेत पाठशाला बन्दै गएको छ। विसं २०५८ मा तत्कालीन जिल्ला विकास समितिबाट सरकारी सेवा सुरु गरेका थापाले इञ्जिनियरिङ सेवाका क्रममा गाउँगाउँ पुग्दा देखेको कृषि सम्भावनालाई आफ्नै गाउँमा प्रयोग गर्ने सोचलेफलफूल खेती सुरु गरेको बताए।
‘गाउँमा केही फल्दैन’ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै थापाले आफ्नो बगैँचालाई अन्य किसानका लागि सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ। उनको कृषि फार्ममा अहिले प्रतिगोटा रु ४०० देखि देखि रु ५०० सम्म मूल्य पर्ने करिब ३०० वटा ड्रागन फ्रुटका बिरुवा रहेका छन्।
त्यस्तै बगैँचामा चार रोपनी क्षेत्रफलमा ७०० बोट केरा र १०० भन्दा बढी एभोकाडो र ४४० वटा अगरउडका बोट छन्। उनको बगैचामा आँप, सुन्तला, मेकाडेमिया नट, लिचीलगायत विभिन्न फलफूलहरुसमेत उत्पादन भइरहेका छन्। फलफूलखेती विस्तारमा थापालाई परिवारको पनि राम्रो साथ छ। थापाले फलफूलखेतीसँगै मसला बाली, मौरीपालन र पशुपालनलाई समेत जोडेर एकीकृत कृषिमा जोड दिँदै आएका छन्।
सत्यवती गाउँपालिकाले व्यावसायिक कृषकका लागि उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयले बताए। उनका अनुसार स्थानीय भूगोल र हावापानीअनुसार विभिन्न प्रकारका फलफूल तथा कृषि बाली विस्तारमा जोड दिइएको छ।
गाउँपालिकाको सहयोगमा स्थानीय किसानले माथिल्लो भूभागमा किवी, स्याउ, टिमुर, नास्पाती, हलुवाबेद, ओखर, सुन्तला, अलैँची र कागतीका बिरुवा लगाएका छन्। तल्लो तथा समथर भूभागमा आँप र लिचीजस्ता फलफूलखेती विस्तार गरिएको छ।
कृषि पर्यटन प्रवर्द्धनका लागि पछिल्लो समय किवी, चिया, कफी तथा सुन्तला उत्पादनमा विशेष जोड दिइएको गाउँपालिका उपाध्यक्ष नीरमाया तरामुले जानकारी दिए। उनका अनुसार सत्यवतीको लुम्पेक क्षेत्रमा चिया तथा कफीखेती विस्तार गरिएको छ। सत्यवती गाउँपालिकाले पालिकाभित्र व्यक्तिगत, समूह, सहकारी तथा सार्वजनिक जग्गामा गरी ८३ हजारभन्दा बढी फलफूल तथा मसला बालीका बिरुवा लगाएको छ।
किसानलाई उत्पादनमा प्रोत्साहन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजना पालिकाले अघि बढाएको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment