दसैँ-तिहारमा यात्रा सहज बनाउन १५ बुँदे निर्णय : अग्रिम टिकटदेखि स्वास्थ्य परीक्षणसम्म
फाइल फाेटाे।
काठमाडौं । आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले सार्वजनिक यातायात व्यवस्थापनका लागि १५ बुँदे निर्णय गरेको छ। यातायात व्यवस्था विभागले सरोकारवाला निकायलाई निर्देशन पठाउँदै अग्रिम टिकट बुकिङ, सडक सुरक्षा तथा यात्रु सेवा सहज बनाउने निर्णयहरू सार्वजनिक गरेको हो। यद्यपि, अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम मिति भने विभागले अझै तय गरेको छैन।
यात्रुको सुविधाका लागि यथासम्भव अनलाइन टिकटको व्यवस्था गर्न र यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी चलाउन व्यवसायीलाई निर्देशन दिइएको छ। आधिकारिक काउन्टर तथा परिचयपत्र र पोसाकधारी कर्मचारीबाट मात्र टिकट बिक्री गर्न पाइनेछ। अनधिकृत काउन्टर वा व्यक्तिबाट टिकट बिक्री रोक्न कडा नियन्त्रण गरिनेछ।
चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी अनुगमनका लागि विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाल रेल्वे कम्पनीबीच समन्वय गरिनेछ। उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाहरूमा चालकको मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवनसम्बन्धी स्वास्थ्य परीक्षण अनिवार्य गरिनेछ। परीक्षणका क्रममा मापसे वा लापसे गरेको पाइएमा व्यवसायीले तत्कालै अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।
लामो दूरीका सवारी साधनले गन्तव्यतर्फ लाग्नुअघि अनिवार्य यान्त्रिक परीक्षण (मेकानिकल चेकिङ) गर्नुपर्नेछ भने दुई जना चालक राखी आलोपालो चलाउनुपर्ने व्यवस्था लागू गरिएको छ। यसैगरी, १८ वर्षमुनीतिका बालबालिकालाई चालक वा सहचालक (सहयोगी) का रूपमा प्रयोग गर्न पूर्ण रोक लगाइएको छ।
मुख्य सडक तथा राजमार्गहरूको नियमित निरीक्षण र मर्मतसम्भारका साथै पहिरो नियन्त्रण र सडक जाम न्यूनीकरणका लागि सडक विभागसँग समन्वय गरिनेछ। चाडपर्वका लागि थप (अतिरिक्त) सवारी साधनको व्यवस्था व्यवसायी स्वयंले गर्नुपर्नेछ। रुट परमिट खुला गर्ने र ठूला सवारी साधनको आवागमनसम्बन्धी अन्तिम निर्णय सरोकारवालासँगको छलफलपछि सूचना जारी गरी गराइने विभागले जनाएको छ।
विभागले यात्रुहरूलाई पनि आधिकारिक काउन्टरबाट मात्र टिकट लिन, यात्राका क्रममा अनिवार्य टिकट साथमा राख्न र मादक पदार्थ सेवन गरेर यात्रा नगर्न आग्रह गरेको छ। साथै, तोकिएकै स्थानमा खाना तथा खाजाको व्यवस्था गर्न र भीडभाड हुन नदिन व्यवसायीलाई निर्देशन दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment