रसुवा बाढीपीडितको पहिचानका लागि डीएनए परीक्षण तीव्र बनाऔं : मन्त्री पुन
ज्ञान, प्रविधिमन्त्री पुन-मन्तव्य
ललितपुर, ७ असोजः
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आज ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ‘नास्ट’ मा चिनियाँ डीएनए तथा फरेन्सिक पहिचान विज्ञहरूले गरिरहेको कामको निरीक्षणपछि मन्तव्य राख्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस
ललितपुर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवा बाढीका मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए तथा फरेन्सिक परीक्षण कार्यको संयुक्त अवलोकन गरेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट), खुमलटार पुगेर उनीहरूले बाढी प्रभावित परिवारका आफन्तको डीएनए परीक्षणमा खटिएका चिनियाँ विज्ञ टोलीसँग प्रगति विवरण र प्रयोग भइरहेको प्रविधिबारे जानकारी लिएका हुन्।
अवलोकनका क्रममा मन्त्री पुनले विपद्मा आफन्त गुमाएका परिवारलाई सत्यतथ्य जानकारी दिन डीएनए परीक्षण महत्त्वपूर्ण माध्यम भएकाले यसलाई थप प्रभावकारी र तीव्र बनाउन आग्रह गरे। विपद्का कारण पूर्ण शव प्राप्त हुन नसकेको अवस्थामा उपलब्ध सानो नमुनाबाटै पहिचान खुलाउन यो प्रविधि उपयोगी हुने उनको भनाइ थियो। मन्त्री पुनले नेपाल प्रहरीको डीएनए प्रयोगशाला ठूलो क्षमताको भए पनि नास्ट र विधि विज्ञान प्रयोगशालाको क्षमता सीमित रहेकाले नमुना संकलन र सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै छिटो नमुना उपलब्ध गराउने प्रयास भइरहेको बताए।
चिनियाँ राजदूत झाङ माओमिङले नेपालमा विगत तीन सातादेखि उद्धार, राहत र पहिचानका लागि खटिएका चिनियाँ फरेन्सिक विज्ञहरूको कार्यसम्पादनको प्रशंसा गरे।
नेपाली प्राविधिक टोलीसँगको संयुक्त सहकार्य, आधुनिक उपकरण र गतिले प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गर्दै उनले नेपाललाई विपद् व्यवस्थापन र प्रविधि हस्तान्तरणमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, प्रयोगशाला स्थापना र सहजीकरणका लागि उनले विज्ञान मन्त्रालय र नास्टलाई धन्यवाद दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment