अग्रज कलाकार कालु कुमालेलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम विदाइ
काठमाडौं। धातुका विशालकाय क्रोधित देवताका मूर्ति निर्माणका लागि प्रसिद्ध ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
बुधबार ९४ वर्षको उमेरमा निधन भएका अग्रज कलाकार कुमालेको पार्थिव शरीरलाई बुधबार श्रद्धाञ्जलीका लागि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो।
प्रतिष्ठानका पदाधिकारी, कलाकार, पर्यटन मन्त्री तथा सांसदहरूले प्रतिष्ठान परिसर पुगी दिवङ्गत कुमालेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
श्रद्धाञ्जली व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले अग्रज कलाकार कुमालेको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए।
सरकारले उनलाई जीवित सम्पदाका रूपमा सम्मानित गर्ने तयारीस्वरूप विधेयकलाई अन्तिम चरणमा पुर्याएको उल्लेख गर्दै मन्त्री पौडेलले मूर्तिहरूमार्फत ईश्वरकै निर्माण गर्ने व्यक्तित्व गुमाउनुको भरपाई शब्दमा हुन नसक्ने उल्लेख गरे।
कुमालेले निर्माण गरेका सिर्जना र देखाएको बाटोमार्फत उनी सधैं जीवित रहने बताउँदै मन्त्री पौडेलले उनले जोगाउन खोजेको सम्पदाको संरक्षण र नयाँ पुस्ताको हस्तान्तरण नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा राखे।
मन्त्री पौडेलले दिवंगत आत्माको वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजन र कलाप्रेमीहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment